काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएका हुन् ।
राप्रपाको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा सबै प्रदेशमा हुने बैठकको मिति तय गरिरहेको राप्रपाले जनाएकाे छ । वैशाख दोस्रो साताभित्र सम्पन्न गर्ने गरी राप्रपाको केन्द्रीय सचिवालयले सबै प्रदेशमा समीक्षा बैठकको तयारी सुरु गरेको हो ।
बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्षहरू, क्षेत्रीय अध्यक्षहरू, प्रदेशसभा क्षेत्रीय अध्यक्षहरू, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उमेदवारहरू एवं जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागिता रहनेछ ।
पार्टीको केन्द्रीय सचिवालयको आयोजनामा हुने सबै प्रदेशको समीक्षा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन एवं केन्द्रीय पदाधिकारीहरू सहभागी हुने राप्रपाले जनाएकाे छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।