काठमाडौँ– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबिच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटका क्रममा नेपाल र जापानबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, जापान सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्याउँदै आएको सहयोग र आगामी दिनमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको थियो।
गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजनासहित अन्य पूर्वाधार आयोजनाको प्रगतिबारे चासो व्यक्त गरेका छन् । यस्ता आयोजनाले नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उनले उल्लेख गरे ।
भेटमा गृहमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका क्षेत्रमा नेपाल र जापानबीच थप प्राविधिक सहकार्य आवश्यक रहेको औँल्याए। नेपालमा विपद् व्यवस्थापन सम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्न जापान सरकारसँग प्राविधिक सहयोग र ज्ञान हस्तान्तरणको प्रस्ताव समेत उनले राखेका छन्।
जापानमा शिक्षा र रोजगारीका क्षेत्रमा रहेका नेपालीप्रति जापान सरकारले अपनाएको सकारात्मक नीतिको प्रशंसा गर्दै गृहमन्त्रीले धन्यवाद ज्ञापन गरे। राजदूत तोरुले नेपाली जापानी समाजमा सहज रूपमा समाहित भई प्रभावकारी योगदान पुर्याइरहेको चर्चा गर्दै नेपाल-जापान आप्रवासन सहकार्यलाई थप व्यवस्थित बनाउन जापान प्रतिबद्ध रहेको बताए।
त्यसैगरी, पर्यटन क्षेत्रलाई द्विपक्षीय सहकार्यको आधारका रूपमा अगाडि बढाउने र लुम्बिनीको दिगो पर्यटन विकासका लागि रणनीतिक साझेदारी गर्ने विषयमा समेत दुई पक्षबीच सहमति भएको छ।
भेटवार्ताको अन्त्यमा दुवै पक्षले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर बनाउन तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।