काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले विरोध जनाएका हुन्।
‘सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार र वर्षको ९ करोड ९० लाख हुँदै ५ वर्षको ४९ करोड ५० लाख रुपैयाँ लाग्छ ।’ उनले अगाडि लेखेका छन्, ‘नाथे स्वकीय सचिव रे !’
संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भने यससम्बन्धी प्रक्रिया अघि बढाएको छ । यसले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।
सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले सांसद्का स्वकीय सचिवको पद खारेज गरेको थियो । त्यसबेला सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूचीमा हेरफेर गरेर संसद्का स्वकीय सचिवको सुविधा खोसेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।