काठमाडौँ– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेट गरेका छन् ।
आज सिंहदरबारमा भएको भेटमा सभामुखले ‘डिजिटलाइजेशन’ तथा ‘ई-पार्लियामेन्ट’ निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसद्लाई ‘पेपरलेस’ प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिए।
उनले यससम्बन्धी समझदारी पत्रको अध्ययनपछि सहकार्यको ‘मोडालिटी’बारे थप छलफल गरिने उल्लेख गरिएको सभामुखको सचिवालयले जनाएको छ।
युएनडिपीकी आवासीय प्रतिनिधि योकोसुकाले सांसदहरूको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताएका थिए ।
उनले डिजिटल संसद् निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदान-प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको बनाएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।