काठमाडौं– राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले उपसभामुखको निर्वाचनमा आफ्नो दललाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट धोका भएको बताएका छन् ।
संसद बैठकमा राप्रपाकी सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै शाहीले यस्तो बताएका हुन् ।
उनले रास्वपा सभापति रवि लामिछानेले नै सहयोग गर्ने आश्वासन दिएपछि उपसभामुखमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
उनले रास्वपाले पनि पुराना दलहरूकै जस्तो व्यवहार गरेको गुनासो गरे ।
त्यस्तै शाहीले उपसभामुख पद आफूहरूको लागि प्राथमिकताको विषय नभएको बताएका छन् ।
प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ ।
लामाको उम्मेदवारीमा शाही प्रस्तावक रहेका छन् ।
‘एक थान उपसभामुख पद हाम्रो प्राथमिकता थिएन र छैन’ उनले भने । तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि उम्मेदवारी दिएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।