काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई राज्यको राजस्व संकलन गर्ने निकाय मात्र नभई मुलुकको आर्थिक विकासलाई गति दिने प्रमुख शक्ति (ड्राइभिङ फोर्स) का रूपमा मूल्यांकन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिकोत्सव (हीरक जयन्ती) अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई राष्ट्र निर्माण प्रक्रियाको महत्वपूर्ण साझेदारको रूपमा स्वीकार गरिनुपर्नेमा जोड दिए। निजी क्षेत्र सुदृढ भए मात्र समग्र आर्थिक प्रणाली मजबुत बन्न सक्ने उनले बताए।
राष्ट्रपति पौडेलले नेपालको निजी क्षेत्रले विभिन्न चरणमा भोगेका चुनौती, योगदान र उपलब्धिलाई स्मरण गर्दै आर्थिक विकासमा चेम्बरले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। उनले कोभिड-१९ महामारी, आपूर्ति शृङ्खलामा आएको अवरोध तथा उत्पादन क्षमतामा देखिएको गिरावटले अर्थतन्त्रमा दबाब सिर्जना गरेको उल्लेख गर्दै यस्तो परिस्थितिमा सरकार र निजी क्षेत्रबीचको समन्वय अझ प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याए।
यस्तै, उनले मुलुकको दीर्घकालीन भविष्य युवा पुस्तामा निर्भर रहेको उल्लेख गर्दै देशभित्रै अवसर सिर्जना नगरे ‘ब्रेन ड्रेन’ अर्थात् प्रतिभा पलायनको समस्या थप गहिरिन सक्ने चेतावनी दिए। उनले उद्यमशीलता, प्रविधि र सिर्जनशीलतालाई आर्थिक गतिविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन्।
राष्ट्रपति पौडेलले परम्परागत आर्थिक सोचबाट बाहिर निस्केर नवप्रवर्तनमा आधारित विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै डिजिटल अर्थतन्त्र, हरित विकास तथा स्टार्टअप संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।