तेहरान– सन १९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा तेहरानमा आयोजित एक सरकारी भोजमा अमेरिकी राष्ट्रपति जिमी कार्टरले इरानका शाह मोहम्मद रेजा पहलवीलाई क्षेत्रको “स्थायित्वको टापु” भनेर प्रशंसा गरेका थिए। उनले शाहको बुद्धिमत्ता, विवेकशीलता र संवेदनशीलताको खुलेर सराहना गरेका थिए।
तर, यो प्रशंसा धेरै समय टिक्न सकेन। त्यसको दुई वर्षभित्रै इरानमा भएको इस्लामिक क्रान्तिले पहलवी वंशलाई फाल्यो र इरानको राजनीति बदलिन पुग्यो ।
इरानको आधुनिक इतिहासमा रजा शाह पहलवीको उदय सन् १९२५ मा भएको थियो। दोस्रो विश्वयुद्धका बेला उनी नाजी जर्मनीतिर झुकेपछि बेलायत र सोभियत संघले उनलाई सत्ताच्युत गरी उनका छोरा मोहम्मद रजा पहलवीलाई गद्दीमा बसालेका थिए।
रजा शाहले इरानलाई पश्चिमा मुलुकको स्तरमा पुऱ्याउने प्रयास गरे पनि उनलाई अमेरिकाको कठपुतली र एक क्रुर तानाशाहको रूपमा हेरिन्थ्यो।
दोस्रो विश्वयुद्धपछि इरानमा पश्चिमी शक्तिको प्रभाव बढ्दै गयो। शाहले तेल आम्दानीको आधा हिस्सा देशमै राख्ने प्रस्ताव अघि सारेका थिए, तर शक्तिशाली एंग्लो–इरानी तेल कम्पनीले त्यसलाई अस्वीकार गर्यो।
त्यसपछि जनसमर्थन मोहम्मद मोसद्देकतर्फ मोडियो। प्रधानमन्त्री बनेपछि मोसद्देकले तेल उद्योग राष्ट्रियकरण गरे, जसले देशभित्र ठूलो समर्थन पायो। तर संयुक्त राज्य अमेरिका र बेलायतले यस कदमलाई आफ्नो हितविरुद्ध ठाने। अमेरिकी राष्ट्रपति ड्वाइट डेभिड आइजनहावर र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको समर्थनमा गरिएको गोप्य अभियानपछि मोसद्देक अपदस्थ भए र नजरबन्द जीवन बिताउन बाध्य भए।
१९७० को दशकसम्म आइपुग्दा आर्थिक असमानता, भ्रष्टाचार र दमनका कारण शाहविरुद्ध जनआक्रोश चुलिँदै गयो। अन्ततः १९७९ मा इस्लामिक क्रान्ति सफल भयो। निर्वासनमा रहेका धार्मिक नेता आयतुल्लाह रुहोल्लाह खोमेनी स्वदेश फर्किए र राजतन्त्रको अन्त्य गर्दै इस्लामिक गणतन्त्रको स्थापना भयो।
१ फेब्रुअरी १९७९ मा खोमेनी तेहरान फर्कँदा लाखौँ समर्थकहरूले स्वागत गरेका थिए। उनी सर्वोच्च नेता बने र इस्लामी सिद्धान्तअनुसार शासन सुरु गरे। उनले अमेरिकालाई ठूलो सैतान र इजरायललाई अवैध कब्जा गर्ने देशको रुपमा घोषणा गरे। खामेनीको पालामा तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरी अमेरिकी नागरिकहरूलाई ५२ दिनसम्म बन्धक बनाइएको थियो । जसले गर्दा अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा बिग्रियो।
सन १९८९ मा भारतीय मूलका लेखक सलमान रुश्दीको पुस्तक प्रकाशित भएपछि खोमेनीले उनलाई मृत्युदण्ड दिनुपर्ने घोषणा गर्दै फतवा जारी गरे। यसले इरान र पश्चिमी देशबीचको सम्बन्ध झन् चिस्यायो।
सन् १९८९ मा खामेनीको मृत्युपछि अली खामेनी इरानको सर्वोच्च नेता बने। खामेनीले यसअघिकै कट्टरपन्थी नीतिहरूलाई निरन्तरता दिए पनि केही समयका लागि मोहम्मद खातमीजस्ता सुधारवादी राष्ट्रपतिहरूले पश्चिमा मुलुकसँग सम्बन्ध सुधार्ने प्रयास गरेका थिए। तर, सन् २००५ पछि इरान पुनः कट्टरपन्थी धारमै फर्कियो।
खामेनीको शासनकालमा इरानले आफ्नो परमाणु कार्यक्रम र सैन्य शक्तिलाई निकै बलियो बनाएको छ। तर हालका दिनहरूमा इरानमा आर्थिक संकट र बेरोजगारीका कारण असन्तुष्टि बढिरहेको छ।
हाल पूर्व शाहका छोरा रेजा पहलवीले देशभित्र परिवर्तनका लागि आह्वान गरिरहेका छन्। तर उनको विदेशसँगको निकटताका कारण इरानभित्र उनको राजनीतिक स्वीकार्यतामाथि प्रश्न उठिरहेका छन्।
पहलवी वंशको विलासी राजतन्त्रदेखिखामेनीको धार्मिक सत्तासम्मको इरानको यात्राका बिचमा अहिले इरानमा अमेरिका र इजरायलको हमला भएको स्थितिमा विश्वको ध्यान यसतर्फ गएको छ ।
विश्लेषकहरूका अनुसार इरानको समकालीन राजनीति अझै पनि १९७९ को क्रान्तिको प्रभावबाट मुक्त हुन सकेको छैन। सत्ता परिवर्तन भए पनि वैधता, जनसमर्थन र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन जस्ता चुनौतीहरू कायम रहने सम्भावना देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।