काठमाडौँ– केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् ।
नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
सप्तरीको राजविराजस्थित काँग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनी काँग्रेस प्रवेश भएका हुन् ।
जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।
पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनको नवीन नीति आत्मसात् गरेको बताए । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देवले एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसको राजीनति गरेका थिए ।
संविधान सभा सदस्य एवम् पूर्वमन्त्री देवले गत माघ १९ मा एमाले परित्याग गरेका थिए । त्यसअघि असार २०८१ मा काँग्रेस छाडेर एमालेमा गएका थिए ।
उनी काँग्रेसबाट राष्ट्रियसभा सदस्य पनि बनेका थिए । फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भएपछि नेता देव काँग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।