काठमाडौँ – काठमाडौँको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड गोली प्रहार गरी १० जनालाई पक्राउ गरेको छ।
प्रहरी स्रोतले प्रशासनलाई जानकारी दिएअनुसार, लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि अवस्था नियन्त्रण बाहिर जान नदिन गोली चलाइएको हो। गोली प्रहारपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
रातिको समयमा विभिन्न व्यक्तिलाई पछ्याएर गहना, नगदलगायतका सामान लुटिएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोली गएराति परिचालित भएको थियो। स्रोतका अनुसार, पक्राउ परेका समूहका सदस्यहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुर क्षेत्रमा समेत लुटपाटका घटना गर्दै आएका थिए।
पक्राउ परेकाहरूको नाम तथा विस्तृत विवरण अनुसन्धानको प्रक्रियामा रहेकाले हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप विवरण पछि सार्वजनिक गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।