काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमूना प्रस्तुत गरेको बताएका छन् ।
उनले उक्त अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने धारणा व्यक्त गरेका हुन् ।
मंगलबार काठमाडौँमा सम्पन्न उज्यालो नेपाल काठमाडौँ-रामेछाप मञ्चको गठन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टीको प्रमुख प्राथमिकता आर्थिक आत्मनिर्भरता र रोजगारी सिर्जना रहेको स्पष्ट पारे। उनका अनुसार कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उनले उज्यालो नेपाल पार्टीलाई समर्थन गर्न मतदातासँग आग्रह गरे । मुलुक क्रमशः बाह्य निर्भरतातर्फ उन्मुख भइरहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा केही उपलब्धि हासिल भए पनि अन्य क्षेत्रहरू अझै कमजोर अवस्थामा रहेको उनले बताए ।
अध्यक्ष घिसिङले देशको समग्र विकासका लागि स्पष्ट कार्ययोजना सहितको घोषणापत्र चाँडै सार्वजनिक गरिने जानकारी पनि दिए । साथै, यातायात, शिक्षा, स्वास्थ्य र विद्युत् सेवा नागरिकका लागि नि: शुल्क बनाउने दीर्घकालीन दृष्टिकोण पार्टीसँग रहेको उनको भनाइ थियो ।
उनले कृषि क्षेत्रमा बढ्दो आयात निर्भरतालाई उदाहरण दिँदै स्वदेशमै उत्पादन र रोजगारी विस्तारमार्फत आर्थिक रूपमा सबल नेपाल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीको उद्देश्य प्रत्येक नागरिकको जीवनस्तर उकास्दै आत्मनिर्भर राष्ट्रको आधार तयार गर्नु रहेको उनले बताएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।