ओखलढुंगा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ ।
सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो ।
पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान्को शव र श्रीमतीको खाटको छेउ भुईँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो । उनीहरूको हत्या पश्चात् मृत्यु भएको खबर आज बिहान करिब ७:४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो । घटना बारेमा जानकारी पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए। उनले भने, “घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।”
गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका– ४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास पैदा भएको छ । शृङ्खलाबद्ध रूपमा भएका हत्याका घटनाका कारण स्थानीयवासी त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।