काठमाडौं - राष्ट्रिय सभामा १७ सदस्य चयन गर्न आइतबार (आज) मतदान सुरु भएको छ ।
आगामी २० फागुनबाट १९ पद रिक्त हुन लागेकामा एक सदस्य निर्विरोध निर्वाचित भइसकेकाले र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने भएकाले बाँकी पदका लागि निर्वाचन सुरु भएको हो ।
संविधानको धारा ८६ (३) मा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएर रिक्त हुने स्थानका लागि पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने उल्लेख छ । जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो, त्यही प्रदेशभित्रका मतदाताबाट नयाँ सदस्य निर्वाचित गर्ने व्यवस्था छ । मतदान प्रदेश राजधानीमा सुरु भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै स्थानमा मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको र ३ बजेसम्म हुने उनको भनाइ छ । मतदान सकिएलगत्तै गणना थाल्ने तयारी छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख/अध्यक्ष र उपप्रमख/उपाध्यक्ष मतदाता हुन्छन् । ७ वटा प्रदेशसभाका ५ सय ५० सदस्य तथा ७ सय ५३ पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष कुल २ हजार ५६ मतदातामध्ये विभिन्न कारणले १४ स्थान पहिले नै रिक्त छन् ।
आसन्न प्रतिनिसभा निर्वाचनमा उम्मेदवारी दिन प्रदेशसभाका १६ र स्थानीय तहका ११ पदाधिकारीले राजीनामा दिएका छन् । पछिल्लो समय राजीनामा दिनेको नाम मतदाता नामावलीमा रहे पनि मत दिन नपाउने निर्वाचन आयोगले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।