काठमाडौँ– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई एक ढिक्का बनाउनु नेतृत्वको मुख्य जिम्मेवारी भएको बताएका छन् ।
पाण्डेले निर्वाचनको समयमा कार्यकर्ताको मनोबल खस्किने खालका प्रतिक्रिया नदिन नेतृत्वलाई सुझाव दिएका छन् । टिकट वितरणको सवालमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गरेर पाण्डेले यस्तो सुझाव दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेको सन्देशमा भनिएको छ, ‘अहिले कार्यकर्ताको मनोबल घटाउने बेला होइन, सबैलाई जोडेर ऊर्जा प्रदान गर्नु पर्छ ।’ उनले आफू एमालेका उम्मेदवारहरुलाई जिताउन मैदानमा खटिएको बताएका छन् ।
नेता पाण्डेलेआफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता भएको बताएका छन् ।
उनले भनेका छन्, ‘टिकट वितरणको ‘क्याल्कुलेसन’ लाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्यौँ, तर एमालेलाई जिताउने हाम्रो साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन । तसर्थ, टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।