काठमाडौँ– नेकपा (एमाले) को ओखलढुंगा जिल्ला कमिटी सामूहिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा नेकपाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित ३८ जनालाई पार्टी प्रवेश गराएको हो।
नवदुर्गा पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवाललगायतका नेता कार्यकर्तालाई औपचारिक रूपमा स्वागत गरिएको जनाइएको छ।
यसअघि उनीहरूले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी एमालेबाट सामूहिक राजीनामा दिएको सार्वजनिक गरेका थिए। प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा जिल्ला कमिटीको सिफारिसलाई बेवास्ता गर्दै पार्टी नेतृत्वले एकल निर्णयमार्फत उम्मेदवार चयन गरेकोप्रति असहमति जनाउँदै उनीहरू पार्टीबाट अलग भएका हुन्।
उनीहरूको भनाइअनुसार जिल्ला कमिटीबाट अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवारसहित पाँच जनाको नाम सिफारिस गरिएको थियो। तर ती सिफारिसलाई उपेक्षा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटताको आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएको आरोप लगाइएको छ।
उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै अम्बिरबाबु गुरुङले यसअघि नै एमाले परित्याग गरिसकेका थिए। नेकपाले उनलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।