काठमाडौं – आगामी निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आग्रह गरेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा रास्वपाले भट्टराईलाई रास्वपाको अभिभावक बनेर सहयोग गर्न प्रस्ताव राखेको हो ।
उक्त प्रस्ताव राख्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले भट्टराईले नै पुराना दलहरूको उपलब्धि संरक्षण गर्दै २१औं शताब्दीको आर्थिक समुन्नतिका लागि नयाँ शक्तिको परिकल्पना गरेको स्मरण गराए । उनले भट्टराईले बसालेको वैकल्पिक राजनीतिको जगमै रास्वपाको उदय, विस्तार र उचाइ सम्भव भएको दाबी गर्दै अबको बाटोमा रास्वपालाई सघाउन आग्रह गरे ।
‘फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र न. २ बाट उम्मेदवार रहनुभएका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं,’ वाग्लेले भनेका छन् ।
स्रोतका अनुसार, प्रचण्डले पनि बाबुरामलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट यो क्षेत्रमा लेखनाथ न्यौपाने उम्मेदवार छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।