काठमाडौँ – रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले आफ्नो मनोनयन फिर्ता लिएक छन्।
संविधानमा रहेको व्यवस्था अनुसार आवश्यक कानुनी म्याद पूरा नभएकाले उम्मेदवारी कायम राख्न नसकिएको उनको भनाइ छ।
थापाले जारी गरेको स्पष्टीकरण अनुसार नेपालको संविधानको धारा २९१ ले विदेशमा बसोबासका क्रममा प्राप्त स्थायी आवास अनुमति परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ। आफूले उक्त अवधि पूरा नहुँदै उम्मेदवारी दर्ता गराएको तथ्य जानकारीमा आएपछि संविधानको मर्म, कानुनी व्यवस्था र नैतिक जिम्मेवारीलाई आत्मसात् गर्दै उम्मेदवारी फिर्ता लिएको उनले उल्लेख गरेकी छन्।
उनका अनुसार पार्टी नेतृत्वबाट मनोनयन फिर्ता लिन सुझाव प्राप्त भएपछि विषयलाई पुनः मूल्यांकन गरिएको थियो। अध्ययनका सिलसिलामा विदेशमा रहँदा स्थायी आवास अनुमति लिएको स्वीकार गर्दै उनले नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट पारेकी छन्।
कानुनी प्रावधान अनुसार आवश्यक समयावधि पूरा नगरी उम्मेदवारी दिएको अवस्थाले उत्पन्न हुन सक्ने संवैधानिक जटिलता टार्न उम्मेदवारी फिर्ता गरिएको थापाको भनाइ छ। उनले उम्मेदवारी फिर्ता लिए पनि राष्ट्र सेवाप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर रहने बताउँदै राजनीति भित्र वा बाहिर रहेर प्रविधि विकास, उद्यमशीलता प्रवर्द्धन, युवा तथा महिला सशक्तीकरण र सुशासनका क्षेत्रमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।