झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्दा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।
“शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,” उनले भने, “हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।” निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्ने उनले आग्रह गरे ।
आजै उनी काठमाडौँबाट चन्द्रगढी विमानस्थलमा आइपुग्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीलगायत कार्यकर्ताले स्वागत गरेका थिए ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि आएको जिल्ला अध्यक्ष गिरीले बताए ।
पार्टीले निर्वाचन सन्दर्भमा आयोजना गर्ने कार्यकर्ता भेला र बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको उनले बताए । गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट आएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।