काठमाडौं– राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य तथा कांग्रेस सांसद बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ ।
आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।
बोहराको गत पुस ३० गते निधन भएको थियो । सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । पछिल्लो समय ललितपुर महालक्ष्मीस्थानस्थित इमाडोलमा बस्दै आएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बैठक सञ्चालन भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।