काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला गरिएको भन्दै आपत्ति जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्नेक्रममा उनले पार्टी विधानअनुसार चल्ने बताएका हुन् ।
‘पार्टी विधानअनुसार चल्छ । राजनीतिक दलको काँधमा संविधान रक्षा गर्ने दायित्व छ । विषम परिस्थितिमा पार्टीभित्रैबाट केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासन बाहिर गएर गतिविधि गरे,’ उनले भने, ‘ विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टीको विधानविपरित निर्वाचन आयोगमा पुगेको जानकारी पायौँ । आज निर्वाचन आयोगमा आफ्ना वैधानिक कुराहरू, नेपाली कांग्रेस, विधान सबैको विषयमा गम्भीर ध्यानाकर्षण गराएर आएका छौँ ।’
उनले कुनै पनि तहको महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिबाहेक अरूलाई नदिएको बताए ।
उनले भने,’हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएका छौँ। सर्वसम्मत निर्णय गरेर हामीले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएका छौँ ।’
उनले गगन थापाले क्रियाशील सदस्यताको विवरण बुझाउन नसकेको कारणले अघिल्लो पटक ल्याइएको महाधिवेशन कार्यतालिका प्रभावित भएको जिकिर गरे। उनले आफूहरूको जानकारीबिना नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशन आह्वान भएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।