काठमाडौँ – राप्रपामा समानुपातिक सूची सच्याउन माग गर्दै आमरण अनशनमा रहेकी नेतृ नानीमैया आचार्यले आफूलाई महामन्त्री बनाउने शर्तमा अनशन तोडेकी छन् ।
उनलाई राप्रपाका पूर्वअध्यक्ष तथा वयोवृद्ध नेता पशुपति शम्शेर राणाले जुस खुवाएर हिजो अनशन तोडाएका हुन् ।
समानुपातिकको बन्द सूचीमा महिला क्लस्टरतर्फ समावेश नाममा असहमति जनाउँदै नानीमैयाले गत शुक्रबार पार्टी कार्यालयमै आमरण अनशन सुरु गरेकी थिइन् । गत मंगलबार उनलाई संस्थापन पक्षका महिलाहरूले जबर्जस्ती पार्टी कार्यालयबाट निकालेका थिए । त्यसपछि उनी ओम अस्पतालमा भर्ना भएर अनशनलाई निरन्तरता दिएकी थिइन् ।
७ दिनसम्म अनशन बस्दा पनि अध्यक्ष राजेन्द्र लिङदेनले वास्ता नगरेको असन्तुष्ट महिला नेतृहरूले बताएका छन् । नानीमैयाको स्वास्थ्य बिग्रिँदै गएपछि उनीहरूले पशुपति शमशेरलाई गुहारेका हुन् । हिजो साँझ ५ बजे राणा अस्पतालमा आएर अनशन तोडाएका छन् ।
यस क्रममा एउटा सम्झौता पत्रमा हस्ताक्षरसमेत गरिएको छ, जसमा राणासहित ५ जना शीर्ष नेताहरूले हस्ताक्षर गरे । हस्ताक्षर गर्नेमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य निरञ्जन थापा रहेका छन् ।
सम्झौता पत्रमा ८ बुँदाहरू छन् । नानीमैया आचार्यलाई राप्रपाको महामन्त्री बनाउने शर्तनामा गरिएको छ । चम्पा अधिकारीलाई केन्द्रीय सदस्य र कार्यसम्पादन समिति सदस्यमा मनोनीत तथा आगामी प्रदेश सभा निर्वाचनमा बागमती प्रदेशमा खस आर्यतर्फ एक नम्बर क्लस्टरमा राख्न पनि ५ नेताहरू तयार भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।