काठमाडौँ – नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ ।
आज कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली आयोग पुगेर कागजात बुझाएको हो ।
गगन थापा पक्षले गत पुस २७ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन गरेर थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेपछि काँग्रेसमा आधिकारिकता विवाद छ । देउवा र थापा पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । आयोगले ती निवेदनमाथि अध्ययन गरिरहेको जनाएको छ ।
यही सन्दर्भमा कार्यवाहक सभापति खड्का, नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, रमेश लेखक, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला लगायतका नेताहरू आज निर्वाचन आयोग पुगेका थिए ।
आधिकारिकता दाबी गर्दै कागजपत्र बुझाउनुअघि कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनलाई लोकतन्त्रमाथि षडयन्त्रको संकेतको रूपमा अर्थ्याएका थिए ।
प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीको बन्द सूची बुझाइसकेको र राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा अर्को पक्षले काँग्रेसको आधिकारिकता दाबी गरेको बताउँदै उनले त्यसलाई नेपालको संविधान, लोकतन्त्र र राजनीतिक परिवर्तनमाथि गम्भीर षडयन्त्रका संकेतको रूपमा व्याख्या गरे । ‘त्यही षडयन्त्रको ठुलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी काँग्रेसको दाबा गर्न आयौँ भनेर सञ्चार माध्यमबाट जानकारी पायौँ,’ खड्काले भने ।
निर्वाचन आयोगमा केन्द्रीय समितिका पदाधिकारीहरू, जिल्ला सभापतिहरू, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली पुगेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।