काठमाडौँ - काठमाडौँमा जारी नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएको छ ।
अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ ।
निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ। यसैले दिउँसो १ बजेदेखि भनिएको मतदान ४ बजेपछि शुरु हुने भएको छ ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।यस्तै, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ ।
एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान प्रक्रिया सञ्चालन गरिने र प्रत्येक मतदाताले भोट हाल्न करिब ३५–४० मिनेट लाग्ने छ ।
मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।