महोत्तरी– मधेसका महोत्तरीसहित मिथिला क्षेत्रमा आज अनन्त पर्व मनाइँदै छ।
चन्द्रमासको भदौ शुक्ल चतुर्दशी तिथिका दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल आज अनन्त पर्व मनाइरहेका छन्। पर्वमा प्रतिपालक मानिने भगवान् विष्णुकै रुप मानिने अनन्त भगवान्को पूजा आराधना गरेर प्रसादस्वरुप गुरु, पुरोहितका हातबाट कलात्मक ढङ्गबाट बाटिएको ‘अनन्त डोरा’ बाँध्ने मिथिला परम्परा छ। पर्व विशेषमा अनन्तको पूजा गर्दा पुरोहितबाट अभिमन्त्रित १४ सुत्रको बाटिएको धागो चढाइने र त्यही धागो दाहिने हातको पाखुरामा बाँधिने गरिन्छ। उक्त अभिमन्त्रित धागोलाई ‘अनन्त डोरा’ भनिन्छ।
एक दिनअघि चोखोनितो रही भदौ शुक्लपक्षको चतुर्दशीका दिन बिहान अनन्त भगवान्को पूजा आराधना गरेर ब्राह्मण पुरोहितको हातबाट ‘अनन्त डोरा’ बाँध्ने परम्परा छ। ‘अनन्त डोरा’ ले आपतविपतबाट रक्षा, आरोग्य र सुख समृद्घि प्राप्तहुने मैथिल जनविश्वास छ। अनन्त डोरा बाँधिने कार्य चतुर्दशी तिथिको भोग रहेसम्म गर्न सकिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का बासिन्दा पं महेशकुमार झा बताउछन्।


आजको चतुर्दशी तिथि सकिनासाथ सुरु हुने पूर्णिमा तिथिमा हिन्दू परम्पराका सहकाल (सकाल) का देवता इन्द्रको पूजा आराधना गर्ने चलन छ। इन्द्रको पूजाआराधनाले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने मैथिल जनविश्वास छ।
इन्द्र पूजनोत्सव बस्तीबस्तीमा इन्द्रका मूर्ति (प्रतिमा) स्थापना गरेर हर्ष र उमङ्गका बीच मेला आयोजन गरेर मनाइने तयारी छ। भदौ पूर्णिमालाई मिथिलामा इन्द्र पूर्णिमा र सो दिनको उत्सवलाई इन्द्र्रजात्रा भनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।