काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ।
विभागले यसका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको हो।
बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको विभागले अबदेखि भने ‘भ्वाइस कल’मार्फत पनि पूर्वसूचना सम्प्रेषण गर्ने तयारी थालेको हो।
विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको जानकारी दिए।
“मोबाइल एसएमएस सबै लक्षित वर्गमा पठाएर बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण प्रयास गर्दै आएका थियौँ। तर सबै जनताले एसएमएस आएको थाहा नपाउन सक्छन् वा सबैले एसएमएस पढ्न सक्दैनन्,” उनले भने, “त्यसैले फोन नै गरेर सन्देश प्रवाह गर्ने तयारी गरेका हौँ।
एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ ? भन्ने विषयमा थप परीक्षण गर्दैछौँ। यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको छ।”
पराजुलीका अनुसार बाढीसम्बन्धी पूर्वसूचना उपलब्ध गराएपछि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण हुन थालेको छ। पूर्वसूचनालाई थप प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा थप लगानी आवश्यक पर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।