काठमाडौं– दुईदिने नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएका छन्।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले ‘लाइट स्ट्राइकिङ भेइकल’दिएका हुन्।
जंगीअड्डाका एक उच्च सैनिक अधिकृतका अनुसार, सैन्य सामग्री हस्तान्तरण गर्ने केही अगाडिदेखि नै तयारी थियो। विदेशसचिव आएको सन्दर्भमा उनी आफैं जंगी अड्डामा पुगेर हस्तान्तरण गरेका हुन्।
स्रोतका अनुसार, ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुरसमेत उनले हस्तान्तरण गरेका छन्। सोही अवसरमा विदेशसचिव मिश्रीले ६ वटा सैनिक घोडा पनि दिएको ती अधिकृतले बताए।
सोही अवसरमा मिश्रीले केही स्वास्थ्य सामग्रीहरु समेत हस्तान्तरण गरेका छन्। सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग मिश्रीले भेटवार्ता गरेका थिए।
नेपाली सेनाले पनि यस सहयोगलाई स्वागत गर्दै भविष्यमा अझै प्रभावकारी सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। सचिव मिश्री आइतबार नेपाल भ्रमणमा आइपुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।