जनकपुर– जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई कारबाहीको माग गर्दै पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्।
आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि आइतबार बिहान ११ बजेदेखि धर्ना दिएका हुन्।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका छन्।

गुठी संस्थानबाट पत्रकार महासंघ मधेस प्रदेशले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए।
-1755418851.jpg)
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले जनकपुरको भूतनाथ महादेव मन्दिर दक्षिणतर्फ रहेको गुठी संस्थानको ४ कट्ठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँ तिर्ने गरी २० वर्षका लागि लिजमा लिएको थियो। महासंघका पदाधिकारीहरू मंगलबार सोही जग्गा भोगचलन गर्न पुगेका थिए।
तर, नेपाल बार एसोसिएसन धनुषाले गत साउन २० गते सूचना जारी गर्दै उक्त जग्गा कानुन व्यवसायीहरूको गाडी पार्किङका लागि प्रयोग गर्ने घोषणा गरेपछि विवाद चुलिएको थियो।
मंगलबार पत्रकारहरू जग्गामा पुग्दा कानुन व्यवसायीहरूको समूहले उनीहरूमाथि आक्रमण गरेको हो।
त्यस क्रममा पत्रकार महासंघ प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए।
घटनामा संलग्न पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि हालसम्म उनिहरुलाई प्रहरीले पक्राउ गरेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।