सिन्धुली– सिन्धुलीको दूधौली नगरपालिका-२ स्थित मधुगंगा महादेव मन्दिरमा दर्शन गर्न हिंडेका दुई जना तीर्थयात्रीको मृत्यु भएको छ। दुईमध्ये एक जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो मधुगंगा महादेव मन्दिर नजिकै लामिडाँडामा तीर्थयात्रीबीच विवाद भई झडप हुँदा अन्दाजी ३० वर्षका पुरुषको घटना स्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा (डीएसपी) सूर्य प्रकाश सुवेदीको भनाइ छ।
मृतक पुरुषको पहिचान खुल्न सकेको छैन। तर, प्रारम्भिक अनुसन्धान अनुसार मृतक दूधौली नगरपालिका सिन्धुलीकै भएको बुझिएको सुवेदीको भनाइ छ।
मन्दिर दर्शन गर्न हिंडेका तीर्थयात्रीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हतपतेबाट प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय डकाहबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) लालध्वज सुवेदीको कमाण्डामा गएको टोलीले अनुशनधान थालेको छ।
घटना स्थलमा धारिलो हतियार चक्कु र खुर्पा फेला पारिएको प्रहरीको भनाइ छ। यसैबीच सोमबार नै सोही मन्दिर (मधुगंगा महादेव) को दर्शन गर्न हिंडेका अर्का अन्दाजी वर्ष ५५/६० का पुरुषको समेत शव फेला परेको प्रहरीले जनाएको छ। सिन्धुलीका प्रहरी प्रवक्ता तथा (डीएसपी) सुवेदीका अनुसार दूधौली नगरपालिका-२ कै गागन बजारमा ती पुरुषको शव फेला परेको हो।
मृतक दुबै पुरुषको शवलाई घटना स्थलको मुचुल्का तयार पारी पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ। प्रहरीले हत्यामा संलग्नको खोजी जारी राखेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।