काठमाडौं – नेपाली पुरुष फुटबल टोलीले बिहीबार हङकङविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेल अघि हङकङ संग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल बिहीबार साँझ ५ः४५ बजे हङकङमा सुरु हुनेछ ।
मुख्य प्रशिक्षक म्याट रसले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा टोली खेलका लागि तयार रहेको बताएका छन् । रसले हङकङलाई नजिकबाट नियालेको र विपक्षीको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे ।
‘लाओसविरुद्ध खेलअघि यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक उर्जा दिएको छ । हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौं । यो सुखद पक्ष हो,’ रसले बताए । उनले हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रष्ट पारे ।
प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोंगले मैत्रीपूर्ण मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत राम्रो तयारी गरेको बताए । ‘हामी विपक्षीलाई सम्मान गर्छौ । तर पाहुनाका रुपमा हामी भोली हुने खेलका लागि तयारीमा रहेका छौं । राम्रो नतिजाको आशा छ,’ किरणले भने ।
विहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ । हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ औं स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।