काठमाडौं – यातायात व्यवसायीले आन्दोलन स्थगित गरेसंगै आज बिहानदेखि सार्वजनिक गाडी चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । मंगलबार बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।
आन्दोलन स्थगन भएसँगै आज बिहानबाट सार्वजनिक यातायात नियमित भएका हुन् । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ नियमावली’लाई एक महिनाको लागि स्थगित गरेपछि यातायात व्यवसायी सवारी साधन चलाउन सहमत भएका हुन् ।
सरकार र यातायात व्यवसायीबीच पटक–पटक वार्तापछि भएको सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । त्यसैका आधारमा गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको हो । सोमबार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । तर, सहमतिको कार्यान्वयन नभएको भन्दै मंगलबार दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।