काठमाडौँ– उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बागमती नदी मा गेग्रान हटाउने काम भइरहेको बताएका छन्।
पूर्वाधार विकास समितिमा मङ्गलवार उपप्रधानमन्त्री सिंहले सम्भावित जोखिम रहेका ठाउँहरूमा अहिले काम भइरहेको बताएका हुन्।
वर्षातको पूर्व सन्ध्यामा सहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक,पुल र बेली ब्रिज लगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारेमा छलफल बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्व तयारी गरिरहेको बताए।
‘विगतका घटनाबाट पाठ सिक्नुपर्छ। नदी समयमा सफा गर्नुपर्छ। उपत्यकामा नदीमा बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरूले जोड दिनुभएको छ। अधिकार सम्पन्न बागमती बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको छ,’ उनले भने।
उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकोमा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक सतर्कता अपनाइने पनि बताए।
बागमती सभ्यताका आयोजना निर्देशक नारायण प्रसाद भण्डारीकाअनुसार नख्खु क्षेत्र,बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ। अहिले बल्खु क्षेत्र, सुन्दरी जलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरी क्षेत्रमा नदिबाट गेग्रान हटाउने काम भइरहेको छ।
समितिमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भई परि आउने विपद्को लागि आवश्यक सतर्कता अपनाइएको बताए। उनले विपद् हेर्ने गरि प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयहरूमा फोकल पर्सन तोकेर काम भइरहेको जानकारी दिए।
सचिव सिग्देलले अघिल्लो वर्षको बाढीइले क्षति पुगेका १० वटा झोलुङ्गे पुलको निर्माण कार्य सकिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।