काठमाडौँ – यातायात व्यवसायीहरूले आज (सोमबार)देखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय गरेको हो ।
आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै देशभरका यातायात बन्द गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए ।
यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनको भनाइ छ ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२–०२–१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’
सार्वजनिक यातायात बन्दको प्रभाव बिहानैदेखि काठमाडौं उपत्यकामा पनि देखिएको छ । आज सार्वजनिक यातायात ठप्प भएपछि यात्रुहरू गन्व्यमा पुग्न सकेका छैनन् । उनीहरू सडक मै अलपत्र परेका छन् । उपत्यकामा मात्रै हैन देशका अन्य विभिन्न क्षेत्रमा यात्रुहरु अलपत्र परेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।