काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूलाई जोडेर भइरहेको प्रचार असत्य भएको दाबी गरेका हुन्।
उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ। यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ। षडयन्त्रपूर्ण छ। यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु।’
उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको भन्दै सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे।
उनले भने, ‘यो असत्य र बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन। मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ।’
उनले अध्यागमन कार्यालयमा सरुवा भएर गएको तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको दाबी गरे।
उनले भने, ‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो। उहाँलाई त्यहाँ सरुवा गरिएको हो। उहाँले यसअघि मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो। जो म भन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो।’
‘अख्तियारको अनुसन्धानको विषयलाई लिएर यसमा मन्त्रीको पनि संलग्नता छ भनेर प्रचारप्रसार भएका छन्। सबैभन्दा पहिला यो जसरी यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएका छन्, यो असत्य कुरा हो। मेरो कुनै संलग्नता छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।