हेटौंडा–मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका-३ मा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज साँझ ७ बजेको समयमा त्रिभुवन राजपथ सडकखण्डको गोपाली गाँउबाट पालुङको थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिँरहेका पैदलयात्रीलाई ठक्कर दिएर उपमेयर भरत गोपालीको घरभित्र बस पसेको थियो।
बस दुर्घटनामा करिब ४० वर्षीय कृष्ण बलामी र सोही उमेरका लाोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।
डीएसपी अर्यालका अनुसार मृतक दुवै जनाको ठेगाना खुल्न सकेको छैन। मृतक बलामी र ठाकुरलाई प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका लागि पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए । दुवै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमै राखिएको छ ।
बस दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरू ठेगाना नखुलेका अन्दाजी ३६ वर्षीय रघुनन्दन यादव र कमलेशकुमार साहको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको डिएसपी अर्यालले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।