काठमाडौँ —राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको १५ औं संस्करण जेठ २८ देखि ३० सम्म काठमाडौंमा हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको निर्णयअनुसार प्रतियोगिताको तयारी सुरु भएको राखेपले जनाएको छ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएकाले निमन्त्रणाका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।
समितिको आइतबार बसेको बैठकले प्रतियोगिता उद्घाटन र सञ्चालन सम्बन्धमा सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकहरूलाई जिम्मेवारी दिइएको छ। रनिङ सिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतियोगिता हुनेछ।
परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङ सिल्ड आयोजनाका लागि व्यवस्थापन समितिलाई निर्देशन दिएका छन्।
पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडी केन्द्र तहको राष्ट्रपति रनिङ सिल्डमा सहभागी गराइने व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले बताए। प्रत्येक प्रदेशबाट ४९ छात्रा/४९ छात्र गरी सात प्रदेशबाट ६ सय ८६ खेलाडी र १७ अफिसियल सहभागी हुनेछन्। सातवटै प्रदेशबाट सहभागिता रहने अपेक्षा गरिएको सचिव शर्माले बताए।
एथलेटिक्स र उसु दशरथ रंगशाला, कराते र तेक्वान्दो सातदोबाटो र कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।