पोखरा – नेपाल पुलिस क्लबलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।
पोखरा रंगशालामा आज भएको फाइनल खेलमा पुलिसलाई ३-१ गोलले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो।
खेलको ४०औं मिनेटमा कप्तान जाखोनगिर अख्मादोभको गोलमा ब्ल्याक बुल्सले पहिलो अग्रता लिएको थियो। ५९औं ब्ल्याक बुल्सका असिलबेक ओरिफजोनोभले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए। ६६औं मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेपछि अग्रता तेब्बर भएको थियो।
पुलिसका उज्ज्वल राईले खेलको ७४औं मिनेटमा एक गोल फर्काए। अट्याकिङ एरियाबाट हानेको फ्री किक गोलमा परिणत भएको थियो। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स च्याम्पियन बन्यो।
ब्ल्याक बुल्सले पहिलो सहभागितामै उपाधि जित्दै नयाँ इतिहास बनाएको छ। उपाधि जितेको ब्ल्याक बुल्सले ट्रफीसहित १२ लाख एक हजार हात पार्यो। उपविजेता बनेको पुलिसले ६ लाख एक हजार प्राप्त गर्यो।
आहा गोल्डकप जित्ने ब्ल्याक बुल्स नवौं टोली हो । यसअघि पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६, थ्री स्टार क्लबले ५, संकटा क्लबले २ पटक , अफ्रिकन युनाइटेड, आयोजक सहारा क्लब पोखरा, एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब समान १ पटक च्याम्पियन बनेका थिए।
![black_blues1-1739620603.jpg](https://nepallive.com/uploads/posts/black_blues1-1739620603.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।