काठमाडौं– सांसदहरूले सिमेन्ट उद्योगीहरूले निर्माणको सिजनमा मूल्य बढाएर नाजायज काम गरेको बताएका छन्।
बिहीवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल निर्माण व्यवसायी महासंघसँग गरेको छलफलमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन्। सांसदहरूले सिमेन्ट उत्पादक उद्योगीले नाजायज रूपमा कार्टेलिङ गरेर मूल्य बढाएको आरोप गएका छन्।
समितिमा बोल्दै पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले निर्माणको सिजनमा सिमेन्टको भाउ बढाएर व्यवसायीहरूले नाजायज काम गरेको बताए। उनले सिमेन्ट उद्योगीहरूले सिमेन्ट किन्न एलसी खोलेर बस्दा पनि सिमेन्ट उद्योगीहरूले सिमेन्ट समयमा नदिएको बताए।
उनले निर्माण व्यवसायीलाई सिमेन्ट उद्योगीहरूले अमानवीय व्यवहार गरिरहेको आरोप लगाए। उनले नेपाली उद्योगलाई धराशायी बनाउने उद्देश्य नभएको बताए। उनले साउनमा गरेको दररेटमा टेण्डर भएकाले निर्माण व्यवसायीहरू समस्यामा परेको बताए। उनले सिमेन्ट उद्योगी व्यवसायीहरूले अत्यधिक मूल्य बढाइरहने हो भने निर्यात खोल्न बाध्य हुनुपर्ने अवस्था आउने बताए।
नेकपा एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले नेपालको ३२ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको र नेपालमा १६ करोड बोरा खपत हुने गरेको बताए। उनले सिमेन्ट उद्योगहरूले उत्पादन घटाएर कार्टेलिङ गरी भाउ बढाइरहेको बताए। उनले उद्योगीहरूले उपभोक्तालाई मारमा पर्ने गरी सिमेन्टको मूल्य बढाउन नपाउने बताए। उनले सिमेन्ट उद्योगीहरूले कालोबजारी गरेर सरकारलाई असफल बनाउने काम गरेको आरोप लगाए।
नेपाली काँग्रेसका सांसद राजु थापाले समितिले निर्माण व्यवसायीहरूको भुक्तानी तत्काल दिलाउन पहल गर्नुपर्ने बताए। उनले सिमेन्ट उद्योगीहरूले कृत्रिम रूपमा मूल्यवृद्धि गरेको बताए।
जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले सिमेन्ट उद्योगी, निर्माण व्यवसायी वा सरकारको दोषी हो भन्ने छुट्याउन नसक्ने अवस्थामा रहेको बताए। उनले ३२ करोड बोरा सिमेन्ट उत्पादन गरी १६ करोड मुलुकभित्र खपत गरी बाँकी निर्यात गरी आर्थिक उन्नति गरेको अवस्था रहेको बताए।
उनले कालोबजारी व्यवसायीदेखि सरकारसम्म लागेको देखिएको बताए। उनले सिमेन्ट उद्योगीहरूले कृत्रिम अभाव गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।