जनकपुरधाम– मधेश प्रदेशमा उपभोक्ता समितिबाट काम गराउने प्रस्ताव पारित भएको छ।
उपभोक्ताबाट काम गराउन चालू आर्थिक वर्षको बजेट संशोधन गर्ने संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको हो।
प्रस्तावको पक्षमा ४३ र विपक्षमा १६ मत परेको छ। सभामुख रामचन्द्र मण्डलले उपस्थित संख्याको बहुमत प्रस्तावको पक्षमा परेकोले पारित भएको घोषणा गरे। १०७ प्रदेश सांसद मध्ये ५९ जना उपस्थित थिए।
उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको बजेट वक्तव्यको १४७ नम्बर बुँदाको बाधा फुकाउन सत्ता पक्षबाट लोसपाकी सांसद रुपाकुमारी यादवले संकल्प प्रस्ताव आज सदनमा पेश गरेकी थिइन्। उक्त प्रस्ताव आज प्रदेशसभामा बहुमतले पारित भएको हो। योसंगै सात महिनादेखि रोकिएको विकास निर्माणको काम सुरु गरिनेछ।
प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उपस्थित सांसदहरुले संकल्प प्रस्तावको विपक्षमा उभेको थियो।
चालु आर्थिक वर्षको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख छ। चालु आर्थिक वर्षमा यो बुँदाले जनमत नेतृत्वको मधेश सरकारको कामकाज नै ठप्प भएपछि पछाडि हटेर सत्ता गठबन्धन संकल्प प्रस्ताव सदनमा लगेको थियो।
गत पुस २९ गते संकल्प प्रस्ताव सदनमा दर्ता भएको थियो। संकल्प प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र माथिका योजना खुल्ला प्रतिस्पर्धाबाट गर्ने उल्लेख छ। यस्तै जोडिएका दुईवटा योजना सम्बन्धित मन्त्रालयको निर्णयबाट कार्यान्वयन गर्न सकिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।