काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरू नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गरेका छन्।
पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस (एमएमसी-आईओएम) इकाई सम्मेलनमा बोल्दै पुनले समावेशिता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकाले त्यसलाई सच्याइनुपर्ने बताएका हुन्।
प्रतिस्पर्धा गर्न नसक्ने वर्गलाई माथि उठाउन समानुपातिक र समावेशिताको अवधारणा अघि सारिएको भए पनि सक्षम वर्गले त्यही नाममा अवसर लिएका कारण जनतामा त्यसप्रति नकारात्मक धारणा विकास हुन थालेको पुनको भनाइ थियो । सोही कारण आफूहरूले लोकतन्त्रको सर्भिसिङ हुनुपर्ने बहस अघि बढाएको उनले बताए।
‘समावेशिता चुनाव लड्न नसक्नेका लागि हो। प्रतिस्पर्धाका लागि योग्य बनाउन पछि परको समुदाय र वर्गका मान्छेलाई अवसर दिने भन्ने त्यसको उद्देश्य हो’, पुनले भने, ‘लुप होल’ बाट प्रतिस्पर्धा गर्न नसक्नेहरूका लागि छुट्याएको कोटामा प्रतिस्पर्धाका लागि सक्षम र सक्नेहरू तीन पटकसम्म सांसद/मन्त्री भइरहेका छन्। अब यसलाई रोक्नुपर्छ।’
उनले सरकारी सेवामा विकट गाउँका गरिब बाहुन, मधेसी, जनजाति र कर्णालीजस्ता पिछडिएको क्षेत्रका लागि छुट्याइएको आरक्षण काठमाडौंसहित सहरका निजी स्कुल र क्याम्पसमा पढ्नेहरुले लिन नहुनेमा जोड दिए।
अवसर पाएका र नपाएकाहरुबीच प्रतिस्पर्धा गराइन नहुने भन्दै पुनले अवसर पाउने-पाउने र नपाउने-नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुने चर्चा गरे। पुनले आफू जनजाति समुदायको भए पनि आफ्ना छोराछोरीले कोटाबाट सरकारी सेवामा प्रवेश गर्न नमिल्ने तर्क गरे।
‘म मन्त्री भएको छु। मेरो छोराछोरीले काठमाडौंमा पढेका हुन्। उनीहरूले जनजाति कोटामा सरकारी सेवामा जाने होइन, प्रतिस्पर्धा गर्नुपर्छ’, पुनले भने, ‘गाउँका गरिब बाहुन क्षेत्रीको छोराछोरी, पछि परेका मधेसी र जनजातिका छोराछोरी र वा कर्णालीको कोटामा आर्थिक र राजनीतिक पहुँचमा भएकाहरूका छोराछोरीले प्रतिस्पर्धा गर्न नसक्नेका लागि छुट्ट्याइएको कोटाबाट अवसर लिन मिल्दैन।’
चुनाव लडेर प्रतिस्पर्धामार्फत आउन सक्ने महिला, जनजाति, दलित वा मधेसी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन रोक्नुपर्ने पुनले बताए।
‘चुनाव लडेर प्रतिस्पर्धाबाटै आउन सक्ने नेता कोटामा आयो भने अर्को आउन सक्दैन’, पुनले भन, ‘महिला छ सक्षम छ। जनजाति छ सक्षम छ। दलित छ समक्ष छ। उसैले कोटा खाइदियो भने अवसरमा पछि परेको मान्छे कसरी अगाडि आउन सक्छ ? यसलाई सच्याउनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।