काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापामाथि शनिबारको भएको आक्रमणको निन्दा गरेको छ।
पूर्व मुख्यमन्त्री समेत रहेका उनलाई केही व्यक्तिले शनिबार झापामा आक्रमण गरेका थिए।
कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको उल्लेख छ। उनको निधारमा चोट लागेको छ।
कांग्रेसले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग सरकारसँग गरेको छ।
हातपातमा संलग्न विद्युत् प्राधिकरणको सुरुङ्गा शाखामा कार्यरत हेल्पर र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।