धनगढी – कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिएका छन्।
गाउँको थारू समुदायमा ‘भलमन्सा’को जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा उनलाई पुनः दोस्रोपटक सर्वसम्मत रूपमा भलमन्सामा चयन गरिएको हो।
‘भलमन्साको जिम्मेवारी लिइसक्नुभएका बद्रीनारायण चौधरीले मलाई समर्थन गर्नुभयो’, उनले भने, ‘अरूले पनि आग्रह गरेपछि पुनः जिम्मेवारी लिएको हुँ।’
सोही गाउँपालिकाको बिसनपुर गाउँमा भलमन्सा छनोट गर्न बसेको बैठकले सोनुराम चौधरीलाई भलमन्सा तोक्ने निर्णय गरेको छ। दुई वर्षसम्म लगातार भलमन्साको जिम्मेवारी वहन गरेका सोनुरामले साथीभाइको सरसल्लाहमै आफू पुनः यो पदको जिम्मेवारी लिन मञ्जुर भएको बताए।
गोदावरी नगरपालिका–८ को थारू गाउँमा यमबहादुर चौधरी भलमन्सा बनेका छन्। माघी शुरु भएसँगै गाउँको मुख्य व्यक्ति मानिने भलमन्सा, चौकिदार, गुरुवा, चिराकी, अघरियालगायतका पदमा व्यक्ति छनोट गर्ने चटारो यति वेला थारू समुदायमा छ। पदमा बसेर काम गर्न नसक्नेलाई पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइन्छ।
कतिपय स्वेच्छाले यो जिम्मेवारीबाट अलग हुन्छन्। सकभर सर्वसम्मतिले र त्यसो हुन नसके चिठ्ठा हालेर छनोट गरिन्छ। गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘बडघर’ भनिन्छ।
समुदायको गाउँटोलको हकमा भलमन्साको भूमिका हुने गरेको छ। थारूमा माघीको रौनकसँगै आवश्यकतानुसार ‘बडघर’ बैठक बसिरहेका छन्।
माघको पहिलो हप्ताभित्र अथवा ढिलोमा दुई हप्ताभित्र वर्षभरी भलमन्साको नेतृत्वमा गाउँमा भए गरेका कामको समीक्षा गर्ने, सार्वजनिक काममा भएको खर्चको हिसाब किताब गर्ने जस्ता काम गरिन्छ। ‘गुरुवा’ (वैद्यको काम गर्ने)ले मानिस, गाईवस्तु र अन्न बालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ।
‘चिराकी’ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजा गर्छन्। ‘चौकिदार’ले आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनुपरे गाउँका मान्छेलाई हाँक गर्ने (बोलाउने) काम र ‘अघरिया’ले भलमन्साको सहायकको रूपमा काम गर्नुपर्ने परम्परा छ। बडघरले लाए अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने हुन्छ।
यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने लामो समयदेखिको प्रचलन थारू गाउँमा छ। यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभई गाउँको अनुशासन कायम गर्नमा टेवा पुग्ने गरेको मानबहादुर चौधरी बताउँछन्। थारू गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्त्व र सम्मान हुनेगर्छ।
कामको मूल्यांकनका आधारमा निजलाई पुनः सोही पदको जिम्मेवारी प्रदान गर्ने गरिन्छ। समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःखसुखमा सामूहिक रूपमा सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता (भलमन्सा)ले गर्छन्।
भलमन्सा बडघर, गुरुवा, चिराकी, अघरिया जस्ता प्रथा पुस्तान्तरण हुँदै आए पनि कतिपय बस्तीमा भने यसको पुस्तान्तरण हुन नसकेको अनुभव थारू अगुवा मानबहादुर बताउँछन्।
आफ्नो कार्य क्षेत्रभित्र उत्पन्न हुने झै-झगडा अंशबण्डा जग्गाको साँध सिमाना, पानी कुलो, लेनदेनको विवादका विषयमा पीडित पक्षले लिखित वा मौखिक रूपमा आग्रह गरेपछि भलमन्साले बैठक गरी दुवै पक्षको जीत जीतको सिद्धान्तअनुसार मिलापत्र गराइदिने परम्परा छ।
पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा थारू समुदायको बसोवास छ। पूर्वी तराईका कतिपय जिल्लामा यो समुदायको बसोवास रहे पनि रहनसहन, वेषभूषा, प्रचलन जिल्ला र ठाउँअनुसार केही फरक देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।