काठमाडौं– नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न सम्झौता भएको छ। नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो।
सोमबार भएको दुई पक्षीय सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा यो सम्झौता कोशेढुंगा हुने बताए।
प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै उनले यो सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताए।
नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको उनको भनाइ थियो। नेपालमा रागाँभैंसीपालन समाजको अभिन्न अङ्गको रूपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।