झापा– नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ। आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो।
विर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छिन्। “यसवर्ष फूलखेती राम्रो सप्रेको थियो, वर्षाका कारण धेरै बिरुवा मरे”, उनले भनिन्, “सोच जति फूल फूलाउन सकिएन, मालाको माग धेरै छ तर उत्पादन कम भयो।”
भण्डारीले विगतमा जस्तै फूलको एक महिना अघिदेखि माग आइरहे र उत्पादन कम भएकाले पुर्याउने अवस्था नरहेको बताइन्। यहाँ प्रतिकेजी रु तीन सय ५० का दरले फूलको मूल्य तोकिएको छ।
तिहारमा मात्र होइन न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री नेपालीहरुले धेरै मन पराउने फूलमा पर्छ। सभा समारोह सजाउन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्ने गरिन्छ।
नेपालमा भने यसको उत्पादन वृद्धि नहुँदा भारतबाट महँगोमा आयात गरेर माग धान्नु परिरहेको व्यापारीहरु बताउँछन्। पुष्प व्यवसायी भण्डारी फूलमाथिको परनिर्भरता हटाउन यहाँका किसानलाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले अग्रसर हुनुपर्ने बताउँछिन्।
विगतमा जिल्लामा २० बिघा भन्दाबढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आए पनि यसवर्ष भने घटेको अनुमान छ। मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायत किसानले पाँच कठ्ठादेखि एक बिघामा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।