काठमाडौं–सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ।
कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो।
पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएको कोषले जनाएको हो। कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१।८२ को भदौ-असोज तेस्रो सातासम्म कोषको खातामा योगदान रकमबापत ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको हो।
गत आर्थिक वर्ष २०८०।८१ असार तेस्रो सातासम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो। समीक्षा अवधिमा १६ लाख ८१ हजार एक सय ९२ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिएका हुन्।
२०७५ मंसिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको उनको भनाइ छ ।औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको दाबी गरिएको छ।
त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।