काठमाडौं– संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाड सँगै आएका कारण हवाई चाप बढेको बताएका छन्।
शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। मन्त्री पाण्डेले भने, ‘विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ। यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं।’
मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए। उनले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरु बनाएर सुदृढिकरण गर्ने उद्घोष गरे।
मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ,संस्थाहरुले सत्य,तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए। मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरेका छन्।
मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरुसँग छलफल गरेका छन्। साथै उनले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको टावरको समेत अवलोकन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।