काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
बिहीबार काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ।
काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ। सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ।
त्यस्तै जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ। कम्पनीले मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याउने जानकारी दिएको छ।
सहुलियत पसलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे। मन्त्री भण्डारीले देशभरका ७४ स्थानहरुमा सहुलियत पसल सञ्चालन गरिएको बताए। उनले अत्यावश्यक वस्तुहरुमा न्युनतम ५ रुपैयाँ सुपथ मूल्य पसल सञ्चालन गरिएको पनि बताए।
सरकारले चाडपर्वमा लक्षित गरेर बजार वस्तुहरु अभाव हुन नदिने गरी पसलहरु सञ्चालनमा ल्याएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।