काठमाडौं– लामो गृहकार्यपछि राष्ट्रिय कथाव्यास समाजले कथावाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक गरेको छ। धार्मिक कथावाचनमा विकृति–विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन पहिलोपटक आचारसंहिता लागू गरिएको हो।
हिन्दू धर्मशास्त्रका गुरुहरुको साझा संस्था राष्ट्रिय कथाव्यास समाजले पारित गरेको आचारसंहितामा धार्मिक अनुष्ठान सम्वन्धि २० वटा, मुहुर्तसम्वन्धी ५ वटा, सत्संगात्मक प्रवचनसम्वन्धी ८ वटा, संस्थासम्वन्धी पाँच वटा र विविध ६ वटा बुँदाहरु उल्लेख छन्। यो आचार संहिता कथाव्यास समाजले परित गरेको दिनदेखि नै लागू हुनेछ।
हालै पशुपति मन्दिरमा आयोजित कोटीहोम कथावाचक र विधिविधानबारे थुप्रै विवादहरु उब्जेका थिए। मुख्य आयोजक विजय कृष्णमुर्ति नै सबैभन्दा बढी विवादमा परे। प्रहरीले उनलाई धरपकड प्रयाससमेत गरेको थियो। यसबाट धार्मिक अनुष्ठान तथा कथावाचनमा आचारसंहिताको आवश्यकता महसुस भएको थियो।
पछिल्लो समय पर्याप्त शास्त्रीय अध्ययन र योग्यताविना जो पनि कथा वाचक बन्ने र कथा वाचनका क्रममा मनगढन्ते गफ दिने प्रवृत्ति बढेपछि समाजले तदारुकता देखाएको एक सदस्यले बताए।
सार्वजनिक भएको आचारसंहितामा कथावचक व्यक्तिगत, सामाजिक र आर्थिक चरित्रमा निस्कलंक हुनुपपर्ने उल्लेख छ। आनुष्ठानिक यज्ञलाई उचित मुहुर्तमा विधिविधानका साथ आयोजना गरी सम्पन्न गनुपर्ने छ।
शास्त्रले निर्दिष्ट गरेका विषयमा शास्त्रसम्मतरुपमा त्यसको व्याख्या विवेचन र विश्लेषण गर्न सकिने तर त्यसको मर्मविपरीत मनगढन्ते तर्क वा खण्डन प्रस्तुत गर्न नपाइने आचारसंहितामा उल्लेख छ। मौनपाठ, दृष्टिपाठलाई बर्जित गर्दै सुद्धपाठ गर्न नजान्नेलाई पाठकका रुपमा राख्न नहुने जनाइएको छ। पाठ गर्ने र कथा भन्ने समय फरक फरक हुनुपर्छ।
पितृउरादी आनुष्ठानिक कथामा वरण गर्ने पण्डित र पुरुष यजमानले अनुष्ठानको पूर्वाङ्गभन्दा एक दिन अगाडि नै दाह्री कपाल क्षौरकर्म गरी कर्ताहरुले प्रायश्चित कर्म गर्नुपर्ने आचारसंहितामा उल्लेख छ। सप्ताह नवाह आदि अनुष्ठानिक यज्ञका बीचमा दारी कपाल नङ काट्न हुँदैन। व्यासासनमा बस्दा कुर्ता दौरा धोति, आदि सात्विक र सौम्य पोशाक लगाउनुपर्छ सुरुवाल र बाहिर प्रयोग गरिएको मोजा लगाउन निषेध गरिएकोछ।
प्रवचन सिद्धासन ९पलेटी कसेर० नै बसेर गर्दा सिद्ध हुने भएकाले गोडा झुण्ड्याएर नबस्न सुझाइएको छ। आचारसंहिताको १६ औं बुँदामा भनिएको छ, ‘कार्यक्रममा कुनै पनि सरकारी ओहदाका व्यत्तिः, राजनीतिक वा अन्य जोकोही अतिथिधका रुपमा आए पनि व्यासासन बराबरको आसनमा राख्न पाइने छैन र मञ्च छोडेर सम्मान गर्न हुँदैन। तर, भागवतले भनेजस्तै गुरुजन आदि आएमा उठेर सम्मान गर्न सकिन्छ।’
जतिसुकै आनन्दको वातावरण तयार भए पनि कथावाचकले मञ्चमै वा मञ्चबाट उत्रेर नृत्य गर्न रोक लगाइएको छ। प्रवचनको समयमा अत्यधि झाँकी र उछृंखल भजन गर्न नहुने भनिएको छ।
आचारसंहिताअनुसार गुरु शुक्रास्त, क्षयमास, मलमास, अमावस्या, ग्रहण, महालयपक्ष ९सोह्रश्राद्ध०, विश्वघस्रपक्षमा प्रारम्भ, समापन वा बीचमा पारेर कुनै पन काम्य अनुष्ठान गर्नु हुँदैन।
कथावाचन पुरुष महिला दुवैले गर्न सक्नेछन्। सत्संगात्मक प्रवचन महिला वा पुरुष जो विज्ञ छ, र प्रसंग र रसको मर्मलाई विश्लेषण गर्न सक्छ, साथै प्रसंगलाई अर्थभंग गर्दैनन्, त्यस्ता जोकोहीले पनि गर्न सक्नेछन्।
महिला प्रवचनकर्ताको हकमा रजस्वला भएको सात दिनसम्मको अवधिमा सर्वथा निषेध गरिएको छ।
‘प्रवचन गर्ने देवीजी वा माताजीहरुले सत्संगात्मक प्रवचन, भजन, कीर्तन, आर्दि गर्न कुनै वाधा परेको मानिने छैन, तर त्यसो गर्दा पनि साध्वी सती स्त्रीको लक्षण अनुकुल आफ्नो स्वरुप हुनुपर्ने विषयमा अवश्य ख्याल गर्नुपवर्छ। जस्तै सात्विक धोती चोलो आर्दिको पहिरन हुनुपर्छ र कपाल फिँजाएर बस्नु हुँदैन,’ आचारसंहितामा भनिएको छ।
यो आचारसंहिता पालन भए नभएको अनुशासन समितिले अनुगमन गर्ने समाजले जनाएको छ। अनुशासन समितिले आचार संहिता भंग गरेको ठहर गरी केन्द्रीय समितिमा सिफारिस गरेमा पहिलोपटक सम्झाउने, दोस्रोपटक चेतावनी र तेस्रोपटक कथाव्यास समितिबाट कारवाही हुनेछ। निषेध गरिएका कार्यहरुमा गरेको पाइएमा अनुशासन समितिको छानविनपश्चात सिफारिस गरेमा समाजले स्पष्टीकरण सोधेर आवश्यकता अनुसार कथाक्षेत्रमा निषेधसम्मको कारवाही गर्न सक्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।