काठमाडौं– नयाँ समिकरणको सरकारमा अर्थमन्त्रीमा बिष्णु पौडले नियुक्त भएपछि सेयर बजारमा गिरावट आएको छ।
पौडेल पाँचौ पटक अर्थमन्त्री बनेको पहिलो दिन नै बजारमा राताम्मे छाएको छ। बजार मापन गर्ने सूचक १७.८१ अंकले घटेर परिसूचक २२४०.४१ बिन्दु कायम भएको छ।
काराबारको सुरुमा केही बढेको बजार त्यसपछि निरन्तर घट्यो। आज ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँको सेयर किनबेच भएको छ। कारोबारमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ।
सोमबारको कारोबारमा जलविद्युत, उत्पादन तथा प्रशोधन, लगानी समूहको उपसूचक बढेको छ भने बाँकी ९ वटा उपसूचकमा राताम्मे छाएको छ।
सोमबार बैंकिङ १८.४३, विकास बैंक ८५.६७, वित्त १३.७६, होटल ९९.९३, जीवन बिमा १८०.९९, माइक्रोफाइनान्स ६८.९७, निर्जीबन बिमा १०२.७४, अन्य २०.५१, ट्रेडिङ समूहको उपसूचक १६.१६ अंकले घटेको छ। मन्त्री पौडेल सेयर बजारप्रति सधै सकारात्मक देखिन्छन्। उनी अर्थमन्त्री हुने भन्ने वित्तिकै सेयर बजारमा हरियाली छाउँथ्यो। तर यो पटक भने सेयर बजारमा गिरावट आएको हो।
सोमबार पदभार ग्रहण गर्दा सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै अनुकुल परिस्थिति बनाउनेतर्फ आफु लाग्ने अर्थमन्त्री पौडेलले दाबी गरेका छन्।
उनको पहिलो अभिव्यक्ति नै सेयर बजारका बारेमा आएपछि बजार भने सकारात्मक नदेखिएको जानकारहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।