काठमाडौं– प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता सहयात्राको सहमति गरेपछि नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ।
मंगलबार नेकपा एमालेले बोलाएको सचिवालय बैठक जारी छ। सम्भवत: एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने देखिन्छ। त्यसअघि बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।
जहाँ उनले प्रचण्डलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेका थिए। तर माओवादीले भने राजीनामा नदिएर सदनमा विश्वासको मत फेस गर्ने निर्णय गरेको छ।
यता नेपाली कांग्रेसले भने एमालेसँगको सहमति संविधान संशोधनका लागि बताएको छ। नयाँ समिकरण बन्ने सहमतिपछि हालको सत्ता साझेदार रास्वपाले भने ठूला फाइलहरु खुल्न थालेपछि डराएर सत्ता समिकरण बदलिएको प्रतिक्रिया दिएको छ। साथै नयाँ बन्ने सरकारमा सहभागिसमेत नहुने निर्णय गरेको छ।
माओवादीले भने नयाँ बन्ने समीकरणलाई प्रतिगमनको प्रतिक्रिया दिएको छ। संविधान संशोधनका लागि भनिएकाले यदि त्यस्तो भएमा सडक संघर्षमा जाने समेत माओवादीले चेतावनी दिएको छ।
अहिले प्रतिपक्षमा रहेको राप्रपाले भने स्वागतयोग्य बताएको छ। संविधान संशोधन आफूहरुको पनि माग रहेकाले त्यसैका लागि सहमति भएकाले पार्टीले स्वागत गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि नयाँ बन्ने सरकारलाई समर्थन गर्ने बताएको छ। यता नेकपा एकीकृत समाजवादीले भने प्रतिगमनको संज्ञा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।