काठमाडौं– नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता समिकरणका लागि भएको सहमतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) स्वागत गरेको छ।
सरकार गठनका लागि दुई ठूला दलबीच सहमति भएपछि राप्रपाले आज दिउँसो १ बजे पदाधिकारी बैठक बोलाएको थियो। उक्त बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेसबीच भएको सहमतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन्।
यस्तै उनले संविधान संशोधनका लागि दुई ठूला दल मिलेर सरकार बनाउने सहमति हुनु स्वागतयोग्य भएको प्रतिक्रिया दिए।
राप्रपाले लामो समयदेखि यो संविधानले काम गर्न सक्दैन र संशोधन गर्नुपर्छ भन्दै आएको उनको भनाइ छ। उनले भने, ‘यहीबेलामा नेपाली कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार आइरहेको छ। त्यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ, संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य हो।’
यद्यपि दुई दलबीचको समझदारी कसरी अगाडि बढ्छ र संविधान संशोधनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय प्रतीक्षामा रहेको लिङ्देनले बताए। दुई दलबीचको सहमतिले ठोस आकार ग्रहण गरेपछि मात्र आफूहरुले यस विषयमा धारणा बनाउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।