काठमाडौं- स्वास्थ्य मन्त्री प्रदीप यादवले ग्लोबल फन्डबाट आउने करिब ६ अर्बमा तीन अर्ब बिचौलिया तलब र भत्तामा खर्च गर्ने बताएका छन्। सरकारले सिधै गर्न खोज्दा नदिइएको समेत उल्लेख गरेका छन्।
नेपाली जनताका नाममा आउने ठूलो बजेट दुरुपयोग हुने गरेको भन्दै मन्त्रालयमा ब्यापक छलफल थालिएको बताए। त्यसबाहेक अन्य सहयोग पनि विचौलियामार्फत आउने भए रोकिदिने चेतावनी दिएका छन्। ‘हामी सक्षम छौं भन्दा अनेक बहाना बनाइन्छ,’ उनले भने। यताबाट इमेल पठाउँदा पन्छाउने गरी अनेक जवाफ आएको भन्दै उनले बिचौलियालाई दिन निहुँ खोजिएको बताए।
‘उनीहरुलाई किन हो बिचौलिया नै चाहिन्छ। हामीले गम्भीर रुपमा कुरा गरिरहेका छौं। अर्थले पनि त्यत्तिकै सम्झौता गरिदिन्छ। अर्थ मन्त्रालयलाई स्वास्थ्यलाई नसोधेर सम्झौता नगर्न मन्त्रालयको टिम बसेर निर्णय पठाउँछु। सल्लाह नलिई सुझाव नलिइ सम्झौता भयो भने कार्यान्वयन हुँदैन। बिचौलिया रहने बजेट चाहिन्नँ,’ उनले भने।
मन्त्री यादवले अन्य दातृ संस्थाका विषयमा पनि कुरा गर्ने भनेका छन्। ‘दातृ निकायले नेपाल र नेपाली जनताका लागि सहयोग दिन्छन्। कुनै व्यक्तिलाई मोटाउन संस्थार मोटाउन होइन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।